वैदेशिक रोजगारमा जाने युवाका लागि सीपमूलक तालिमको व्यवस्था गर्ने मेयर बरबरियाको घोषणा


शहीदनगर नगरपालिकाका प्रमुख उदय बरबरियाले वैदेशिक रोजगारमा जाने युवाहरुका लागि सीपमूलक तालिमको व्यवस्था पालिकामै गर्ने घोषणा गरेका छन्। २१औँ अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा धनुषाको शहीदनगर नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख बरबरियाले वैदेशिक रोजगारमा जाने युवाहरुका लागि सीपमूलक तामिलको व्यवस्था गर्ने घोषणा गरेका हुन्। उनले युवालाई सीपमूलक तालिमको व्यवस्था गर्नका लागि ५ लाख रकम छुट्याउने समेत जानकारी दिए।

नगर प्रमुख बरबरियाले पालिकामै सीपमूलक तालिमका लागि अलग्गै कक्षको व्यवस्था समेत गरिने बताए। यसअघि कोरोना संक्रमण चरम अवस्थामा रहेको बेला भारतमा काम गर्दै आएका वीरेन्द्र गुरमैताको धनुषाको नेपाल भारत सीमा भोकका कारण मृत्यु भएको स्मरण गर्दै उनले गुरमैताको परिवारलाई 1 लाख रुपैयाँको आर्थिक सहयोग गरेको समेत बताए। यता आप्रवासी हकहित संरक्षण केन्द्र र मित्र धनुषाको आयोजनामा भएको सो कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले तीनै तहका सरकारलाई वैदेशिक रोजगारमा जानेहरुका लागि सीपमूलक तालिमको व्यवस्था गर्न आग्रह गरेका थिए।

नेकपाका केन्द्रीय सदस्य श्रवण बरबरियाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रमका संयोजक विवेक यादवले मुलुकको अर्थतन्त्र नै रेमिट्यान्सले धानीरहेको बेला आप्रवासी कामदारहरुको विषयमा कुनै पनि सरकार जिम्मेबार नहुनु दुःखद रहेको बताए। उनले शहीदनगरका नगर प्रमुख उदय बरबरियालाई धन्यवाद ज्ञापन गर्दै धनुषाका अन्य पालिकाहरुलाई समेत आप्रवासी कामदारहरुको सीपमूलक तालिमका लागि बजेट छुट्याउन आग्रह गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button