कमरेड ओलीलाई छेक्यो कसले !


प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुको कारणबारे भन्ने गर्नुहुन्छ, ‘घेराबन्दीमा पारियो । जे गर्न खोज्यो, त्यहीँ–त्यहीँ रोक्ने काम भयो !’

अहिले नेकपाका नेताबीचमा चर्चा छ, न नेताहरूले उहाँलाई कहिल्यै रोके, रोक्न खोजिएका थुप्रै कुरामा उहाँ कुनै दिन रोकिनु नै भयो । उहाँले इच्छा गरेअनुसार नै मन्त्रीहरू नियुक्त भए । ‘कसलाई गरौँ, कसलाई नगरौँ’ सोधखोज नगरिकन ११ चोटि मन्त्रिपरिषद् हेरफेर भयो । अनगिन्ती राजनीतिक नियुक्ति भए । त्यसमा पनि पार्टी नेतृत्वबीच छलफल भएन ।

आफ्नो जन्मदिन मनाउन केक बोकेर राजसी ठाँटसहित हेलिकोप्टरमा तेह्रथुमको जन्मगाउँ पुग्नुभयो । पञ्चायतकालमा राजाको क्षेत्रीय भ्रमण हुँदा क्षेत्रभरिका ‘पञ्च–भलाद्मी र पदाधिकारी’ लाइन लागेकै शैलीमा तेह्रथुममा मानिसहरूको लाइन लगाइयो । अनि, त्यहीं यति होल्डिङ्सले अलग्गै हेलिकोप्टरमा लगेको केक पनि काटियो । यी काममा पनि कुनै रोकावट भएन । उहाँले चाहेजसरी नै काम चल्यो ।

उहाँलाई बालुवाटारमा भएभरका नेता बोलाएर सारंगी बजाउन मन लाग्यो, बजाउनुभयो । कसैबाट रोकावट भएन । प्रधानमन्त्री हुनासाथ अर्थ मन्त्रालयबाट राजश्व अनुसन्धान विभाग झिकेर आफ्नो सचिवालयमातहत राख्नुभयो । त्यसमा पनि कुनै रोकटोक चलेन । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय अनुसन्धान विभाग पनि आफैँतिर तान्नुभयो । कसैले रोकेन । अर्थअन्तर्गतकै सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग समेत आफैँले राख्नुभयो । त्यसमा कसैले ‘चुँ’ सम्म बोलेन । अरु संघ, संस्था र विभागमा प्रतिस्पर्धाबाट राजनीतिक नियुक्ति गर्ने भनियो । कतिपयमा गरियो पनि । तर, गुरु भट्टराईलाई रेल कम्पनीको जिएम बनाउँदा न प्रतिस्पर्धा चाहियो, न तिनको योग्यता नै परीक्षण गरियो । त्यसो गर्दा पनि कुनै रोकावट भएन ।

आफूसँग हुँदै नभएको अधिकार प्रयोग गरेर प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष नियुक्त गर्नुभयो । उक्त नियुक्तिलाई उहाँले निक्कै भर पर्नुभएको सर्वोच्च अदालतले रोकिदियो । पार्टीका नेताले रोकेका हैनन् । अनगिन्ती विज्ञ, नेता र कार्यकर्ता हुँदाहुँदै डा.युवराज खतिवडालाई गभर्नर, राष्ट्रियसभा सदस्य, अर्थमन्त्री, आर्थिक मामिला सल्लाहकार हुँदै अमेरिकाका लागि राजदूत पनि बनाउनुभयो । कसैले रोकेनन् ।

‘कम्प्राडोर’ हरूको योजनामा लगानी बोर्डको कार्यकारी निर्देशक सुशील भट्ट नियुक्त भए । यो नियुक्ति पनि रोकिएन । पार्टीको बैठक धुम्बाराहीमा बसौँ भनेर नेताहरूले भने । तर, उहाँले ‘म आउँदिन, बैठक बस्ने भए यतै बालुवाटार आउनुस्’ भन्नुभयो । नेताहरू थपक्क जान्थे पनि ।

शायद यी कुरा बुझेरै नेकपा नेता जनार्दन शर्माले टिप्पणी गर्नुभएको हुनुपर्छ । एक सन्दर्भमा उहाँले भन्नुभएको थियो, ‘प्रधानमन्त्रीलाई भोक अर्कैैको लागेको रहेछ । हामीले बुझेनछौँ । नत्र, पाँच वर्ष ढुक्कले प्रधानमन्त्री खानुस् भन्दा पनि बीचमा संसद विघटन गर्ने कुरा कसरी हुन्छ ?’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button