शहिदनगरमा शिक्षक भर्ना गर्न हेडमास्टर र वडाध्यक्षको जालसाजी, शिक्षा इकाइले माग्यो जवाफ

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकामा शिक्षक भर्ना गर्न एक विद्यालयको हेडमास्टर र वडाध्यक्षले जालसाजी गरेपछि जवाफ मागिएको छ ।
शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकुहास्थित रहेको जनता इकाई माविका हेडमास्टर रामनारायण ठाकुर र वडाध्यक्ष मनोज दासले गैर–कानुनी रुपमा शिक्षक भर्ना गर्न खोजेपछि जवाफ मागिएको छ ।
शिक्षा विकास तथा समन्व ईकाई धनुषाले एक पत्र जारी गर्दै शहिदनगर नगरपालिकाको शिक्षा शाखालाई जवाफ÷राय पेश गर्न पत्राचार गरेको हो ।
विद्यालयमा शिक्षक भर्ना गर्नको लागि गैर–कानुनी रुपमा हेडमास्टरले वडाध्यक्षकै सहीछाप गराएर भर्ना गर्न खोजेको देखिएको छ ।
शिक्षा नियमावली विपरित विज्ञापन निकालेको तथा विद्यालयको लेडरप्याडमा वडाध्यक्षको सहि गराएको भन्दै ईकाईले जवाफ माग गरेको छ । यदुकूहास्थित रहेको जनता इकाई प्राविधिक धार विद्यालयमा विभिन्न पदको शिक्षक भर्नाको लागि विज्ञापन निकालिएको थियो ।
तर, विज्ञापन शिक्षा नियमावली विपरित भएको भन्दै मुद्दा परेको छ ।
विद्यालयका प्रधानाध्यापकले शिक्षा नियमावली मिचेर शिक्षक भर्नाको लागि कानुन मिचेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले समेत राय पेश गर्न पत्राचार गरेको छ ।