जिबी राईलाई नेपाल फर्काउनेबारे रवि लामिछानेले मलेशियाका गृहमन्त्रीसँग कुराकानी


सहकारी ठगी प्रकरणमा फरार रहेको भनिएका गितेन्द्र बाबु (जिबी) राईलाई नेपाल फर्काइदिन गृहमन्त्री रवि लामिछानेले मलेशियाका गृहमन्त्रीसँग कुरा गरेको गृह मन्त्रालयका एकजना अधिकारीले बताएका छन्।

नेपालले करिब एक महिना अघि नै औपचारिक पत्र पठाएर राईलाई स्वदेश फर्काइदिन गरेको आग्रहबारे मलेशियाले आइतवारसम्म कुनै औपचारिक जबाफ नदिएको नेपाली दूतावासले जनाएको छ।

मलेशियाका गृहमन्त्री सैफुदिन नासुतिन इस्माइलले गतसाता नेपालका उपप्रधान तथा गृहमन्त्री लामिछानेसँग आफ्नो टेलिफोन संवाद भएको विवरण सार्वजनिक गरेका थिए। लामिछानेको तर्फबाट भने यो संवादबारे कुनै विवरण सार्वजनिक गरिएको थिएन।

मलेशियाका गृहमन्त्री स्माइलले आफ्नो सामाजिक सञ्जालमा राष्ट्रिय  सुरक्षा र विदेशी कामदारहरूको विषयमा कुरा भएको उल्लेख गरेका छन्।

“राष्ट्रिय सीमामा सुरक्षा र सार्वजनिक सुशासन कायम गर्ने हाम्रो छलफलको मुख्य विषय थियो। राष्ट्रिय सुरक्षा कायम गर्नेबारेमा कुनै पनि सम्झौता नगर्ने विषयमा हाम्रो प्रस्ट सहमति रह्यो,” स्माइलले भनेका छन्।

उनले विदेशी कामदारहरूको विषय र सीमापार हुने अपराधका विषयमा पनि छलफल भएको उल्लेख गरे पनि नेपालले मलेशियासँग स्वदेश फर्काइदिन आग्रह गरिरहेका जिबी राईको विषय उल्लेख गरेका छैनन्।

केही समयअघिबाटै गृहमन्त्री लामिछानेले मलेशियाका गृहमन्त्रीसँग संवादका लागि समय मिलाइदिन परराष्ट्र मन्त्रालयसँग अनुरोध गरेको विवरण सार्वजनिक भएका थिए। 

तर गतसाता भएको टेलिफोन संवादबारे क्वालालम्पुर स्थित नेपाली दूतावासलाई भने जानकारी नभएको अधिकारीहरूले बताएका छन्।

गृहमन्त्री लामिछानेलाई उनका आलोचकहरूले कुनै समय आफ्ना व्यावसायिक साझेदार रहेका राईलाई पक्राउ गर्न नसकेको भन्दै प्रश्न उठाउने गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button