संसद् विघटनबारे आधिकारिक धारणा बनाउने


काठमाडौं । प्रधानमन्त्रीले संसद् विघटन गरेपछि कांग्रेसले बोलाएको केन्द्रीय समिति बैठक आज दिउसो १ बजे बस्दै छ ।


पार्टी कार्यालय सानेपामा बस्ने केन्द्रीय समितिको पहिलो एजेन्डा नै यसअघि असंवैधानिक र अधिनाकवादी भन्दै आएको संंसद् विघटनका विषयमा आधिकारिक धारणा तय गर्नु र त्यसका विरुद्धमा रणनीतिक कार्यक्रम तय गर्नु हो । त्यसबाहेक कांग्रेसले नियमित विषयहरुमा पनि छलफल गर्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । 


‘‘मुलतः आजको केन्द्रीय समिति बैठक प्रधानमन्त्रीले हठात् संसद् विघटन गरेपछिको परिस्थितिमाथिको छलफलकै लागि डाकिएको हो,’’ प्रवक्ता शर्माले भने, ‘‘त्यसबाहेक हाम्रो आसन्न महाधिवेशन समेत यही निर्णयका असरहरु देखिन सक्छन्, ती विषयहरुमा पनि स्वाभाविक रुपमा छलफल हुन्छ ।’’ 

प्रवक्ता शर्माले कांग्रेसको आन्तरिक जीवनका विषयको छलफल र निर्णयका लागि केन्द्रीय समिति बैठक केही दिन निरन्तर हुने बताए । कांग्रेसले यसअघि संशोधन गरेको कार्यतालिकाअनुसार मंसिर मसान्तभित्र क्रियाशील सदस्यताको विवरण जिल्लाहरुले केन्द्रमा पठाइसक्नुपर्ने थियो । 
तर, अहिलेसम्म अर्घाखाँची जिल्लाले मात्र क्रियाशील सदस्यको विवरण केन्द्रमा पठाएको छ । 

त्यसबाहेक बुथ, वडा, पालिक, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला प्रदेश र केन्द्रको महाधिवेशनसम्मका सबै तालिका परिवर्तन गर्नुपर्ने भएको छ ।  यी सबै विषयमा निर्णय गर्न र महाधिवेशनको मिति सार्ने काम जारी केन्द्रीय समितिबाटै गर्ने कांग्रेसको तयारी छ ।
 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button