हार्ने चुनाव ओलीले गर्दैनन् : बाबुराम भट्टराई


पोखरा । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चुनावमा पराजय बेहोर्ने दाबी गर्दै हार्ने चुनाव उनले नगर्ने ठोकुवा गरेका छन् । डा. भट्टराईले भने, ‘ओलीले प्रतिनिधिसभा विघटन गरेर संविधानलाई नै धरासायी बनाए । उनीविरुद्धको लडाइँमा हिम्मत नहारौं ।’

पोखरामा जनता समाजवादी पार्टीले बुधबार आयोजना गरेको विरोध सभामा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेको डा. भट्टराईले सो कुरा बताएका हुन् ।

२९ वर्ष लडेर सहीद भएर ल्याएको लोकतन्त्र धरापमा पारिएको भन्दै उनले भने, ‘अहिले आएर किन जनयुद्ध लडिए, किन हाम्रा आफन्त तथा साथीभाइ सहिद भएछन् भन्ने दिन आएको छ ।’

उनले विघटित संसद पुनःस्थापना गर्न संघर्षका लागि एकजुट हुन आग्रह गरेका छन् । अहिले प्रधानमन्त्री ओलीले न्यायधीशलाई धम्क्याएको र आफ्नो आसेपासेलाई नियुक्त गरेको नेता भट्टराईले आरोप लगाएका छन् ।

ओलीले बैशाखमा निर्वाचन पनि नगर्ने उनले दाबी गरे । र, हार्ने चुनाव ओलीले नगर्ने बताए । अदालतबाट कस्तो फैसला हुन्छ भन्नेमा भर गरेर बस्न नहुने उनले कार्यक्रममा बताए । यो संविधान नेपाली जनता आफैंले बनाएकाले प्रतिनिधिसभा विघटन हुन नसक्ने उनले दावी गरेका छन् ।

पार्टीका नेता अशोककुमार राईले प्रतिनिधिसभालाई अनुचित तरिकाले नामजस्तै प्रधानमन्त्री खड्गप्रसाद ओलीले खड्ग प्रहार गरेको बताए ।

कोरोनाले आर्थिक संकटमा फसेका समयमा ओलीले जनताको आवाज सुन्नुपर्छ कि भन्ने डरले प्रतिनिधिसभा विघटन गरेको आरोप राईको थियो ।

यस्तै, केन्द्रीय कार्यकारी सदस्य शरदसिंह भण्डारीले हिमाल पहाड तथा तराईका पछाडि पारिएकाहरुको पार्टी जनता समाजवादी पार्टी भएको बताए । उनले नेपाल तथा नेपालीको भविष्यका लागि आफूहरुको पार्टी भएको दाबी गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button