न्युरोडको आकाश छातै छाता

न्युरोड गेटबाट सुन्धारा मार्ग हुँदै संकटा जाने बाटोमा करिब ४०० वटा जति रंगीचंगी छाता


9 पुस, काठमाडौं । घोडेजात्राको दिन मनाइने पाँचरे जात्रामा न्युरोडवासी रथ तान्दै, सडक छाकिने गरी नान्छन् । यसरी खुसी मनाउन वर्षभरि यस्तो संयोग अरूदिन जुर्दैन ।

यो वर्ष त कोरोना भाइरसको महामारीका कारण पाँचरे जात्रामा पनि खुलेर नाच्न पाएनन् । त्यसमाथि लामो लकडाउनका कारण व्यापार व्यवसाय समेत ठप्प भएपछि मुख्य व्यापारिक केन्द्र न्यूरोडका व्यापारीहरुलाई विक्षिप्त बनाउन पुग्यो ।

खस्किएको व्यापारलाई उकास्न मानिसहरुलाई न्यूरोडतर्फ ध्यान तान्नुपर्ने थियो । त्यसका लागि बनेको योजनाले न्युरोडको एउटा गल्लीलाई आकर्षक बनाएको छ ।

न्युरोड गेटबाट सुन्धारा मार्ग हुँदै संकटा जाने बाटोमा करिब ४०० वटा जति छाता आकाशमा झुण्ड्याइएका छन् । करिब १५० मिटरको दुरीमा रंगीचंगी छाताले ढाक्नेगरी सडकको छेउछाउमा करिब ३० वटा गमलामा फूलहरु फुलाइएका छन् ।

यसले मानिसहरुलाई निकै लोभ्याएको छ । टिकटक बनाउन र फोटो सेसन गर्न पुग्नेहरु धेरै छन् ।

चितवनमा पनि एक वर्षअघि यही कन्सेप्ट अनुसार ‘अम्ब्रेला स्ट्रिट’को रूपमा पर्यटकलाई आकर्षक बनाउने प्रयास गरिएको थियो । काठमाडौंमा सुरु गरिएको यो नयाँ अवधारणाले १० दिनमा नै लोकपि्रयता हासिल गरेको संकटा क्लबका सचिव आशीषमान सिंह बताउँछन् । ‘पहिले दैनिक १००० जनाजति आउँथे होला, अहिले दैनिक १० हजारभन्दा बढीले यहाँको अवलोकन गर्ने गरेका छन्’ सिंह भन्छन्, ‘यसले विस्तारै व्यापार पनि बढाउला ।

कसरी बन्यो योजना ?

मंसिर महिनाको अन्तिम दिन न्युरोडको तबहाल क्षेत्रका व्यापारीहरुबीचको चिया गफको क्रममा कोरोनाको त्रास कम भएपनि व्यापारले गति लिन नसकेको विषयमा सबैले चिन्ता व्यक्त गरे । व्यापारलाई उत्थान गर्ने भन्ने मतहरु पनि आए । कुराकानीकै क्रममा संकटा क्लबका सचिव सिंहले युरोप जाँदा ‘अम्ब्रेला स्ट्रिट’ देखेको सुनाए । त्यही प्रयोग गर्न अरु पनि सहमत भएपछि ८० हजार रुपैयाँ संकलन भयो ।

र, त्यही दिनदेखि सुरु भयो बाटो सिँगार्ने काम ।

न्युरोड गेटबाट सुन्धारा मार्ग हुँदै संकटा जाने बाटोमा करिब ४०० वटा जति रंगीचंगी छाता झुण्ड्याइएका छन् । करिब ३० वटा गमलामा फूलहरु फुलाइएका छन् ।

त्यही क्षेत्रमा पर्ने एउटा बौद्ध स्तुपालाई पनि रातिमा वार्म लाइटले रंगीचंगी बनाइएको छ । ‘खाली ठाउँ कतै पनि राखिएको छैन, सोही खाली ठाउँलाई व्यवस्थापन गरेर सुन्दरता थप्ने प्रयास गरिएको छ’ सिंह भन्छन्, ‘दरबारमार्गको जस्तो लाइटिङ गर्न रुख नभएर पोलमै बत्ती बेरेर बाल्न थाल्यौं ।

यो सडकमा दुईपांग्रे र हलुका चारपांग्रे बाहेक अन्य सवारी प्रवेशमा रोक लगाइएको छ भने अव्यवस्थित पार्किङ हटाइएको छ । बिहान नगरपालिका र दिउँसो क्लबका कर्मचारीले नियमित सरसफाइ गर्ने गरेको संकटा क्लबका सचिव सिंह बताउँछन् । उनका अनुसार अहिलेसम्म ९/१० लाख खर्च भएको छ, जुन क्लब, स्थानीय व्यापारी र नगरपालिका वा वडा कार्यालयले व्यहोरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button